हालण्ड सिटीमा अनुवन्धित

काठमाडौं (एजेन्सी) । चर्चित नर्वेजियन स्टार स्ट्राईकर इर्लिङ हालण्ड अन्ततः प्रिमियर लिग जायन्ट म्यानचेष्टर सिटीमा आवद्ध भएका छन् । यो कुराको पुष्टी सिटीले आफ्नो आधिकारिक पेजमार्फत समेत गरेको छ । २१ वर्षे हालण्डले आउँदो जुलाईमा इतिहाद स्टेडियममा पाइला टेक्ने छन् ।

केही महिना अघि मात्र आफ्नो पूर्व स्टार स्ट्राईकर सर्जियो एग्वेरोलाई गुमाएपछि सिटी उनको विकल्पको खोजीमा थियो । त्यो विकल्पलाई हालण्डले पूर्ति गर्ने क्लबले विश्वास लिएको छ ।

रिपोर्टअनुसार सिटीले हालण्डका लागि उनको वर्तमान क्लब बोरुसिया डर्टमुण्डलाई रिलिज क्लज वापतको ६० मिलियन युरो तिरेको छ । साथै सिटीले हालण्डसँग अब व्यक्तिगत सहमति र केही मुख्य विषयहरुमा सम्झौता गर्न मात्र बाँकी रहेको बताएको छ ।

स्मरण रहोस, सन् २०२० को जनवरीमा रेडबुल साल्जबर्गबाट डर्टमुण्डमा आवद्ध भएका हालण्डले जर्मन क्लबका लागि ८८ खेलमा ८५ गोल गरेका थिए ।

हालण्डलाई अनुवन्ध गर्न स्पेनिस क्लब रियल मेड्रिड र बार्सिलोना पछि इच्छुक थिए । तर हालण्डले इतिहाद स्टेडियमलाई रोजे । रोचक कुरा त हालण्डका पिता अल्फ इंगे हालण्डले पनि सन् २००० देखि २००३ सम्म सिटीका लागि खेलेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...