रियल बन्यो ला लिगा च्याम्पियन, एन्सेलोटीको किर्तिमान

काठमाडौं (एजेन्सी) । शानदार जित निकाल्दै रियल मेड्रिडले स्पेनिस ला लिगाको उपाधि किर्तिमानी ३५औं पटक जित्न सफल भएको छ । प्रभावशाली जित हात पार्ने क्रममा रियलले इस्पान्योललाई ४–० को फराकिलो अन्तरले हरायो ।

रियलका लागि खेलको ३३ र ४३औं मिनटमा ब्राजिलियन युवा स्टार रोड्रिगोले लगातार दुई गोल गरे । ५५औं मिनटमा मार्को असेन्सियोले तेस्रो गोल थपे भने ८१औं मिनटमा करिम बेन्जेमाले चौथो गोल गर्दै रियलको जित पक्का गरे ।

यो जितसँगै ३४ खेलबाट ८१ अंक जोडेको रियल शिर्ष स्थानमा छ । र दोस्रो स्थानको टोली सेभिया भन्दा १७ अंकले अगाडी छ । उता पराजित इस्पान्योल भने ३९ अंकका साथ १३औं स्थानमा छ ।

एन्सेलोटीको किर्तिमान

त्यस्तै रियल ला लिगा च्याम्पियन बनेसँगै क्लबका म्यानेजर कार्लो एन्सेलोटीले पनि किर्तिमान बनाएका छन् । यो लिग उपाधिसँगै ६२ बर्षिय एन्सेलोटी युरोपको शिर्ष पाँच लिगको उपाधि जित्ने पहिलो म्यानेजर समेत बनेका छन् ।

स्मरण रहोस, उनले इटालीमा एसी मिलानका लागि सिरि ए, इङल्याण्डमा चेल्सीका लागि इङलिस प्रिमियर लिग, फ्रान्समा पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि लिग वान तथा जर्मनमा बायर्न म्युनिखका लागि बुण्डेसलिगा उपाधि जितिसकेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...