साँघुरो जितका साथ शिर्ष स्थानमा उक्लियो लिभरपुल

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको उपाधि होडमै रहेको लिभरपुलले शनिबार साँघुरो जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा कब्जा जमाएको छ ।

महत्वपूर्ण जित निकाल्ने क्रममा लिभरपुलले जुझारु न्युक्यासल युनाइटेडलाई उसकै घरमा १–० ले हरायो । पहिलो हाफको १९औं मिनटमा नावि किटाले गरेको एक मात्र गोल रेडसलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै ३४ खेलबाट ८२ अंकका साथ लिभरपुल शिर्ष स्थानमा उक्लेको छ । र निकटतम प्रतिद्वन्द्वी म्यानचेष्टर सिटी भन्दा २ अंकले अगाडी पुगेको छ । सिटीले शनिबार राती नै लिड्स युनाइटेडसँग खेल्दैछ । जुन खेलमा जित निकाले पेप गार्डिओलाको टोली फेरि शिर्ष स्थानमा पुग्नेछ । यद्यपि लिभरपुलले सिटीमाथि दबाब भने कायम राख्नेछ ।

उता लिभरपुलसँग पराजित हुन पुगेको न्युक्यासल भने ३५ खेलबाट ४३ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...