लिभरपुलमा क्लोपको सम्झौता लम्बियो

काठमाडौं (एजेन्सी) । लिभरपुल फुटबल क्लबको इतिहास मै सफलतम म्यानेजर मध्ये एकका रुपमा आफूलाई उभ्याएका जर्मन प्रशिक्षक योर्गन क्लोपले रेड्ससँगको सम्झौता थप लम्ब्याएका छन् ।

५४ बर्षिय क्लोपले लिभरपुलसँग बिहीबार दुई वर्षका लागि आफ्नो सम्झौता थप लम्ब्याएका हुन् । यो नयाँ सम्झौतासँगै क्लोप सन् २०२६ सम्म एनफिल्ड मै रहने पक्का भएको छ।

सन् २०१५ मा तत्कालिन प्रशिक्षक ब्रेन्डन रोजर्सको स्थानमा लिभरपुलको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका क्लोपले त्यसयता लिभरपुललाई उत्कृष्ट लय र सफलतातर्फ डोर्याईरहेका छन् ।

क्लोप कै प्रशिक्षकीय जिम्मेवारीमा लिभरपुलले सन् २०१९–२० मा प्रिमियर लिगको उपाधि जितेको थियो । त्यति मात्र नभएर उनले क्लबलाई प्रतिष्ठित च्याम्पियन्स लिग, इङलिस लिग कप, युईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि समेत जिताईसकेका छन् ।

यस वर्ष पनि क्लोप कै नेतृत्वमा लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेको छ । साथै प्रिमियर लिग र एफए कपको उपाधि होडमा समेत सामेल छ ।


प्रतिक्रिया दिनुहोस

Loading...