सिटीलाई हराउँदै लिभरपुल फाइनलमा (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । सनसनीपूर्ण जितका साथ लिभरपुल प्रतिष्ठित इङलिस एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली स्टेडियममा म्यानचेष्टर सिटीलाई ३–२ ले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।

खेलको नवौं मिनटमै इब्राहिमा कोनाटेले लिभरपुलका लागि पहिलो गोल गरे । १७ र ४५औं मिनटमा साडियो मानेले लगातार दुई गोल थप्दै लिभरपुललाई पहिलो हाफ मै ३–० को स्थितिमा ल्याएका थिए । जुन निर्णायक अग्रता पनि बन्यो ।

उता दोस्रो हाफको ४७औं मिनटमा ज्याक ग्रिलिसले सिटीका लागि पहिलो गोल फर्काए भने इन्जुरी समयमा बर्नार्डो सिल्वाले दोस्रो गोल थपे पनि टोलीको हार भने टार्न सकेनन् ।

लिभरपुलले अब फाइनलमा आइतबार हुने दोस्रो सेमिफाइनलतर्फ चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । स्मरण रहोस, चेल्सी गत संस्करणको उपविजेता समेत हो । फाइनल खेल भने १४ मईका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...