म्याड्रिड बराबरीमा रोकिँदा बार्सिलोनाको हार

स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ तर प्रमुख प्रतिद्वन्द्वी बार्सिलोना हारेपछि यो बराबरीले पनि उसलाई ठूलो असर भने परेन । जित निकालेको भए बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गर्ने थियो । शनिवार राती म्याड्रिड डर्बीको खेलमा एट्लेटिकोसंग १-१ को बराबरीमा रोकिएको हो ।

पोर्चुगिज डिफेन्डर पेपेले रियललाई ५२ मिनेटमा अग्रता दिलाएका थिए। आन्टोन ग्रिजमनले ८५ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याए। ग्रिजमनको स्पेनिस ला लिगामा १५ औं गोल थियो। उनी यो सिजन ला लिगामा गोल गर्ने अभियानमा पाँचौ नम्बरमा छन्।

उपाधि होडमा शीर्ष स्थानको रियल मड्रिडलाई दबाब दिँदै आएको बार्सिलोना महत्वपूर्ण खेलमा पराजित भएपछि रियललाई राहत मिल्यो । ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको बार्सिलोनालाई घरेलु टोली मालागाले हरायो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोना मालागासँग २–० ले पराजित भएको हो ।

मालागाको जितमा रामिरेज र रोड्रिग्वेज मेनेन्डेजले गोल गरे । हारपछि दोस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७२ अंक भएको छ । बार्सिलोनाको एक खेल बढी खेलेर पनि रियलको भन्दा तीन अंक कम छ ।

राति नै भएका खेलमा सेभिल्लाले डिप्रोटिभो डि लाकोरुनालाई ४–२ तथा स्पानियोलले एलाभेसलाई १–० ले हरायो ।


प्रतिक्रिया दिनुहोस

Loading...