प्ले अफको फाइनलमा पोर्चुगल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । दावेदार मध्ये एक युरोपियन महारथी पोर्चुगल यसै वर्ष हुने फिफा विश्वकपको युरोपियन प्ले अफतर्फ फाइनलमा प्रवेश गरेको छ । बिहीबार अबेर राती भएको प्ले अफ सेमिफाइनलतर्फ पोर्चुगलले टर्कीमाथि ३–१ को प्रभावशाली जित निकाल्दै फाइनलमा पुगेको हो ।

पोटो स्थित घरेलु मैदानमा सम्पन्न खेलमा पोर्चुगलले १५औं मिनटमा ओटाभियाको गोलबाट खेलमा अग्रता लिएको थियो । ४२औं मिनटमा डिओगो जोटाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ६५औं मिनटमा बुराक इल्माजले टर्कीका लागि पहिलो गोल फर्काए । टर्कीले खेलमा पेनाल्टीको अवसर पनि पाएको थियो । तर ईल्माजले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

उता खेलको अन्तिमतिर इन्जुरी समयमा लुईज नुनेसले तेस्रो गोल गर्दै पोर्चुगलको उत्कृष्ट जित पक्का गरे । अब पोर्चुगलले प्ले अफ फाईनलमा २९ मार्चका दिन नर्थ मेसिडोनियासँग खेल्नेछ । नर्थ मेसिडोनियाले बिहीबार राती नै बलियो इटालीलाई हराउँदै प्ले अफ फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...