रोनाल्डोको ह्याट्रिकमा म्यानचेष्टरको उत्कृष्ट जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि प्रिमियर लिगमा आइतबार म्यानचेष्टर युनाइटेडले टोटेनह्याम हटसपुरमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको १२औं मिनटमै रोनाल्डोले उत्कृष्ट गोलका साथ म्यानचेष्टरका लागि गोलको खाता खोलेका थिए । तर ३५औं मिनटमा हेरी केनले टोटेनह्यामका लागि पेनाल्टीबाट गोल फर्काउन सफल भए ।

त्यसको तीन मिनट लगतै रोनाल्डोले घरेलु टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफसम्म त्यहि अग्रता कायम पनि रह्यो । यद्यपि दोस्रो हाफको ७२औं मिनटमा बल क्लियर गर्ने क्रममा म्यानचेष्टरका लागि कप्तान हेरी मेगीरले आत्मघाती गोल गर्न पुगेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

खेलको ८१औं मिनटमा रोनाल्डोले तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीलाई पनि अहम जित दिलाए । रोनाल्डोको यो समग्रमा ८०६औं गोल थियो । र उनी आधुनिक फुटबलमा आधिकारिक रुपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बन्न सफल भए ।

यो जितपछि २९ खेलबाट ५० अंक जोडेको म्यानचेष्टर चौथो स्थानमा छ र शिर्ष चारमा रहने आफ्नो सम्भावना कायम राखेको छ । उता पराजित टोटेनह्याम भने २७ खेलबाट ४५ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...