लिभरपुलसँग इन्टर निराश, बायर्न जोगियो

काठमाडौं (एजेन्सी) । युइएफए च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा लिभरपुलले महत्वपूर्ण अवे जित निकाल्दा दावेदार मानिएको बायर्न म्युनिख भने सम्भावित हारबाट जोगिएको छ ।

मिलानमा भएको खेलमा लिभरपुलले घरेलु टोली इन्टर मिलानलाई २–० ले हरायो र महत्वपूर्ण अवे जित दर्ता गर्यो । लिभरपुलका लागि खेलको ७५औं मिनटमा रोबर्टो फर्मिनोले पहिलो गोल गरे भने लगतै ८३औं मिनटमा मोहमद सलाहले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

अब दोस्रो लेगका खेल ८ मार्चका दिन लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । जुन खेलमा इन्टरलाई सशक्त प्रदर्शनका साथ पूनःरागमन गर्दै निकै संघर्ष गर्नुपर्ने देखिएको छ ।

त्यस्तै बुधबार राती नै भएको अर्को खेलमा दावेदार बायर्नले रेडबुल साल्जबर्गसँग १–१ को बराबरी खेल्यो । साल्जबर्गको घरेलु मैदानमा भएको खेलमा शुरुवाती अग्रता पनि घरेलु टोलीले लिएको थियो ।

खेलको २१औं मिनटमा जुनियर अडमुको गोलबाट साल्जबर्गले खेलमा सनसनीपूर्ण अग्रता बनाएको थियो । तर त्यो अग्रता अन्तिम समयमा गुमाउन पुग्यो । ९०औं मिनटमा किंग्सले कोमनले बायर्नका लागि बराबरी गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।

यो नतिजाका बावजुद बायर्नलाई अवे गोलको फाईदा भने हुनेछ । अब दोस्रो लेगको खेल ८ मार्चका दिन बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...