लिभरपुलको साँघुरो जित, न्युक्यास पनि सफल

काठमाडौं (एजेन्सी) । यस सिजन लिग उपाधि होड मै रहेको लिभरपुलले प्रिमियर लिगतर्फ आइतबार बर्नली विरुद्ध १–० को साँघुरो जित निकालेको छ । बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि ४०औं मिनटमा फाबिन्होले गरेको गोल निर्णायक बन्यो ।

यो जितपछि २४ खेलबाट ५४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ६३ अंकका साथ एक खेल बढी खेलेको म्यानचेष्टर सिटी छ । उता पराजित बर्नली १४ अंकका साथ पुछारमा छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लामाथि १–० को जित निकाल्यो । लिगमा लगातार तेस्रो जित हात पारेको न्युक्यासलका लागि केरन ट्रिपरले एक मात्र गोल गरे । यो जितपछि २१ अंक जोडेको न्युक्यासल १७औं स्थानमा छ र रेलिगेशन क्षेत्रको टोलीभन्दा ४ अंकले अगाडी छ । त्यस्तै पराजित भिल्ला भने २७ अंकका साथ ११औं स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा वुल्भरह्याम्पटनले टोटेनह्याममाथि २–० को सनसनीपूर्ण जित निकाल्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...