औबमेयाङको स्थानान्तरण बार्सिलोनाद्वारा पुष्टी

काठमाडौं (एजेन्सी) । चर्चित गाबोन स्ट्राईकर पिएरे एमरिक औबमेयाङलाई अनुवन्ध गरेको कुरा बार्सिलोनाले बुधबार आधिकारिक रुपमा पुष्टी गरेको छ । यसै जनवरी ट्रान्सफर विन्डोमा आर्सनल छाडेर सोमबार नै बार्सासँग नयाँ सम्झौता गरे तापनि क्लबले यसबारे आधिकारिक घोषणा गरेको थिएन ।

बार्सिलोनासँग ३२ बर्षिय यी गाबोन स्टारले सन् २०२५ को जुनसम्मका लागि सम्झौता गरेका छन् । यद्यपि त्यो सम्झौतामा उनले त्यसअघि सन् २०२३ को समर ट्रान्सफर मै क्लब छाड्न सक्ने सम्झौता रहेको समेत बुझिएको छ । त्यस्तै सम्झौतामा उनको ‘बाई आउट क्लज’ १०० मिलियन युरो रहेको छ ।

आर्सनलका लागि १६३ खेलमा ९२ गोल गरेका औबमेयाङले गत डिसेम्बरमा अनुशासनको कारवाहीमा परे यता गनर्सका लागि खेलेका थिएनन् । स्मरण रहोस, आर्सनलले उनलाई सन् २०१८ को जनवरी ट्रान्सफर विन्डो मै बोरुसिया डर्टमुण्डबाट ५६ मिलियन पाउण्डमा अनुवन्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...