रियलले जितेको दिन बार्सिलोना ‘नकआउट’

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित स्पेनिस कोपा डेल रे मा बिहीबार राती प्रिक्वाटरफाइनलतर्फ रियल मेड्रिडले कठिन जित निकाल्दा साविक विजेता बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।

रियलले क्वाटरफाइनल यात्रा तय गर्ने क्रममा इल्चीलाई उसकै घरमा २–१ ले हरायो । यद्यपि त्यसका लागि रियललाई अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो । खेलमा दुवै टोली दश खेलाडीमा पनि खुम्चिएका थिए ।

खेलको १०२औं मिनटमा मार्सेलोले रातो कार्ड खाँदै मैदान छाड्दा रियल दबाबमा परेको थियो । त्यसको एक मिनट लगतै इल्चीका लागि भेर्डुले गोल गर्न सफल भएका थिए । यद्यपि रियलले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । १०८औं मिनटमा इस्कोले बराबरी गोल फर्काए भने ११५औं मिनटमा इडन हजार्डले निर्णायक गोल गर्दै रियलको रोमाञ्चक जित पक्का गरे ।

उता खेलको अन्तिमतिर १२०+२औं मिनटमा इल्चीका लागि पेरे मिल्लाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली पनि दश खेलाडीमा खुम्चिन बाध्य भएको थियो ।

बार्सा स्तब्ध बनेको दिन

बिहीबार नै डिफेन्डिङ च्याम्पियन तथा सर्वाधिक ३१ पटकको कोपा डेल रे विजेता बार्सिलोनाले एथलेटिक बिल्बाओसँग ३–२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । यो हारले बार्साको उपाधि जोगाउने अभियान र किर्तिमानी उपाधि जित्ने सपना पनि समाप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...