सहज जितका साथ सिटी चौथो चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । प्रतिष्ठित इङलिस एफए कपको तेस्रो चरणमा इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले चौथो डिभिजनको टोली स्विन्डन टाउनमाथि ४–१ को सहज र शानदार जित हात पारेको छ ।

स्विन्डनको घरेलु मैदानमा भएको खेलको १४औं मिनटमै बर्नाडो सिल्वाको शुरुवाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । लगतै २८औं मिनटमा ग्याब्रिल जिसुसले दोस्रो गोल थपे ।

एकतर्फी जित निकालेको सिटीका लागि ५९औं मिनटमा इल्काय गुन्डोगनले तेस्रो गोल थपे । उता पराजित स्विन्डनका लागि ७८औं मिनटमा हेरी म्याकिर्डीले एक गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

पहिलो गोल खाए लगतै सिटीले चौथो गोल पनि फर्काउन सफल भयो । ८२औं मिनटमा १९ बर्षिय कोल पाल्मेरले चौथो गोल थप्दै सिटीको शानदार जित सुनिश्चित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...