बार्सिलोना च्याम्पियन्स लिगबाट नकआउट (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पाँच पल्टको युरोपियन च्याम्पियन बार्सिलोनाले १७ बर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट असफल भएको छ । बुधबार राती समूह ई तर्फको आफ्नो अन्तिम र निर्णायक खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सा समूह चरणबाटै बाहिरिएको हो ।

बायर्नको घरेलु मैदान एलिायन्ज एरिनामा भएको खेलको ३४औं मिनटमा थोमस मुलरले पहिला े गोल गरे । ४३औं मिनटमा लेरोए सानेले त्यो अग्रता दोब्बर पारे । त्यस्तै बायर्नका लागि तेस्रो गोल भने ६२औं मिनटमा जमल मुसियालाले गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

बार्सालाई नकआउट चरणमा पुग्न समूह ई कै अर्को खेलको नतिजा पनि पर्खनु पर्यो । बेनफिका र डायनामो किव बीच भएको अर्को खेलमा बेनफिका २–० ले विजयी भएपछि बार्सा समूह ई को तेस्रो स्थानमा झर्न पुगेको थियो ।

बुधबार रातीको नतिजापछि ६ खेलबाट १८ अंक जोडेको बायर्न शिर्ष स्थानमा रह्यो र समूह विजेता बन्यो । ८ अंकका साथ बेनफिका दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्यो । त्यस्तै ७ अंक जोडेको बार्सा भने तेस्रो स्थानमा रह्यो । अब बार्साले युरोपा लिग खेल्नेछ । एक अंक मात्र जोडेको डायनामो किव भने समूह चरणबाटै बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...