पिएसजीको जितमा मेसीको दुई गोल (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । युइएफए च्याम्पियन्स लिगतर्फ समूह ए को अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज निकाल्दै समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको छ ।

मंगलबार राती पिएसजीले क्लब ब्रुगीस माथि ४–१ को सहज जित निकाल्यो । पिएसजीको जितमा काइलन एम्बाप्पे र अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले २–२ गोल गरे ।

खेल शुरु भएको दोस्रो र सातौं मिनटमै एम्बाप्पेले लगातार दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३८औं मिनटमा मेसीले त्यो अग्रता दोब्बर पारे । उता ब्रुगीसका लागि ६८औं मिनटमा म्याटस रिटसले एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।

गोल खाएको केही मिनट लगतै ७६औं मिनटमा मेसीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

मंगलबार समूह ए कै अर्को खेलमा म्यानचेष्टर सिटीले आरबी लिपजिगसँग २–१ को स्तब्धपुर्ण हार बेहोर्यो । यद्यपि हारका बावजुद ६ खेलबाट १२ अंक जोडेको सिटी समूह विजेता बन्यो । ११ अंकका साथ पिएसजी समूह उपविजेता बन्यो ।

७ अंक जोडेको लिपजिग तेस्रो स्थानमा रह्यो र युरोपा लिगका लागि छनौट भयो । त्यस्तै ४ अंक मात्र जोडेको क्लब ब्रुगीस पुछारमा रहँदै समूह चरणबाटै बाहिरियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...