लण्डन डर्बीमा चेल्सी पराजित

काठमाडौं (एजेन्सी) । यस सिजन राम्रो लयमा रहेको लिगलिडर चेल्सीले इङलिस प्रिमियर लिगतर्फ शनिबार शहरी प्रतिद्वन्द्वी वेस्ट ह्याम युनाइटेडसँग उसकै घरमा ३–२ ले पराजित भएको छ ।

खेलमा दुईपटकको अग्रता जोगाउन नसकेको चेल्सीले अन्ततः हार बेहोर्न बाध्य भयो । खेलको २८औं मिनटमा थियागो सिल्वाको गोलबाट चेल्सीले अग्रता लिएको थियो । यद्यपि ४०औं मिनटमा मेनुअल लान्जिनीले पेनाल्टीबाट वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए ।

तर पहिलो हाफ कै ४४औं मिनटमा मेसन माउण्टले चेल्सीलाई फेरि खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि ब्लुजले कायम राख्न सकेन । ५६औं मिनटमा बोवेनले वेस्ट ह्यामका लागि दोस्रो गोल गर्दै खेललाई फेरि रोमाञ्चक बराबरीमा ल्याए ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला ८७औं मिनटमा आर्थर मासाकुले घरेलु टोलीका लागि तेस्रो तथा निर्णायक गोल गर्दै चेल्सी विरुद्ध वेस्ट ह्यामलाई रोमाञ्चक जित दिलाए ।

यो हारका बावजुद १५ खेलबाट ३३ अंकका साथ चेल्सी शिर्ष स्थानमा यथावत छ । यद्यपि यो नतिजाले ३२ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुल र म्यानचेष्टर सिटीलाई भने फाईदा पुगेको छ । उता महत्वपूर्ण जित हात पारेको वेस्ट ह्याम भने २७ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...