पहिलोपटक घरमै रोकियो पिएसजी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) यस सिजन पहिलोपटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । फ्रेन्च लिग वानतर्फ बुधबार भएको खेलमा पिएसजीले घरेलु मैदान पार्क डेस प्रिन्सेसमा नाइससँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

पिएसजीले विपक्षी विरुद्ध खेलअवधि भर कुल २८ पटक पोष्ट चार्ज गरे तापनि गोल गर्न भने असफल भयो । लियोनल मेसी र काइलन एम्बाप्पेले गोलको खाता खोल्न सकेनन् । अर्को फरवार्ड नेमार भने चोटका कारण मैदानमा उपस्थित हुन सकेनन् । उनी लिगामेन्टको चोटका कारण आठ साता लामो मैदान बाहिर रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बराबरी नतिजापछि १६ खेलबाट ४१ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । बुधबार नै नान्टेसलाई १–० ले हराएको मार्सेली १५ खेलबाट २९ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै पिएसजीसँग बराबरी खेलेको नाइस भने २७ अंकका साथ चौथो स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...