पिएसजीको सहजतसँगै स्पष्ट अग्रता यथावत

काठमाडौं (एजेन्सी) । यस सिजन फ्रेन्च लिग वानमा सुस्त शुरुवात गरेर हाल शानदार लयमा देखिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले त्यो शानदार लयलाई आइतबार पनि कायम राख्यो ।

दश खेलाडीमा खुम्चिएको सेन्ट इटिनीलाई उसकै घरमा ३–१ ले हराएको पिएसजीले लिगतालिकामा आफ्नो दबदबालाई कायम राख्यो । यद्यपि खेलमा अग्रता भने घरेलु टोलीले नै लिएको थियो ।

२३औं मिनटमा डेनिस बुंगाको गोलबाट सेन्ट इटिनीले खेलमा अग्रता लिएको थियो । तर घरेलु टोलीले त्यो अग्रता धेरैबेर कायम राख्न सकेन । पहिलो हाफ कै इन्जुरी समयमा मार्किन्होजले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए ।

४५औं मिनटमा टिमोथी कोलोडिजेकले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिन पुग्यो । जसको फाईदा पिएसजीले दोस्रो हाफमा उठायो । ७९औं मिनटमा एन्जल डि मारियाले दोस्रो गोल थप्दा अन्तिमतिर मार्किन्होजले नै व्यक्तिगत दोस्रो तथा पिएसजीका लागि तेस्रो गोल गर्दै टोलीलाई उत्कृष्ट जित दिलाए ।

यो जिसँगै १५ खेलबाट ४० अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा २६ अंकका साथ नाइस छ । उता पिएसजीसँग पराजित सेन्ट इटिनी भने १२ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...