शानदार जितका साथ शिर्ष स्थानमा फर्कियो रियल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्पेनिस ला लिगामा आइतबार शानदार जित हात पार्दै रियल मेड्रिड लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ । दश खेलाडीमा सिमित ग्रनाडालाई उसकै घरमा ४–१ ले हराएको रियल आइतबार फेरि शिर्ष स्थानमा उक्लिएको हो ।

खेलको १९औं मिनटमा मार्को इसेन्सियोको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । २५औं मिनटमा नाचोले रियलको त्यो अग्रता दोब्बर पारे । तर ३४औं मिनटमा ग्रनाडाका लुइस सुआरेजले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

दोस्रो हाफको ५६औं मिनटमा भिनिसियस जुनियरले रियलका लागि तेस्रो गोल थपे । लगतै ६७औं मिनटमा रोड्रिगेज जिमीनेजले रातो कार्ड खाँदै मैदान छाड्दा ग्रनाडा दश खेलाडीमा खुम्चिन पुग्यो । जसको फाईदा पनि रियलले उठाउँदै थप एक गोल गर्यो ।

७६औं मिनटमा फेर्लान मेन्डीले रियलका लागि चौथो गोल गर्दै टोलीको शानदार र सहज जित सुनिश्चित गरे । यो जितसँगै १३ खेलबाट ३० अंक जोडेको रियल शिर्ष स्थानमा उक्लिएको छ ।

आइतबार नै भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएको रियल सोसिडाड २९ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै रियलसँग पराजित ग्रनाडा भने ११ अंकका साथ १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...