अन्ततः आले बर्खास्त

काठमाडौं (एजेन्सी) । म्यानचेष्टर युनाइटेडका लिजेण्डरी फरवार्ड ओले गनर सोल्सायरलाई क्लबले म्यानेजरको भूमिकाबाट बर्खास्त गरेको छ । पछिल्लो समय खराब लयमा रहेको म्यानचेष्टरले शनिबार मात्र वाटफोर्डसँग ४–१ ले पराजित भएपछि सोल्सायरको जागिर धरापमा परेको थियो ।

ओलेको जिम्मेवारीमा म्यानचेष्टरले प्रिमियर लिगमा खेलेको पछिल्ला ७ मध्ये केवल १ खेलमा मात्र जित हात पारेको थियो । लिगतालिकामा लिगलिडर चेल्सी भन्दा म्यानचेष्टरले १२ अंकले पछाडी छ ।

ओलेको बर्खास्तीसँगै टिमको जिम्मेवारी तत्कालका लागि अस्थायी रुपमा माइकल क्यारिकले सम्हाल्ने छन् । म्यानचेष्टरले आफ्नो आगामी खेल यहि मंगलबार च्याम्पियन्स लिगतर्फ भिल्लारियलसँग खेल्ने कार्यक्रम छ । जसको जिम्मेवारी क्यारिकले नै सम्हाल्ने छन् ।

म्यानचेष्टरले प्रिमियर लिगतर्फ गत अक्टुबर २४ तारीखका दिन घरमै लिभरपुलसँग ५–० ले पराजित भएको थियो भने ६ नोभेम्बरका दिन शहरी प्रतिद्वन्द्वी सिटीसँग २–० ले पराजित भएको थियो ।

ती दुई नतिजापछि ओले माथि थप दबाब पनि सिर्जना भएको थियो । यद्यपि उनी त्यतिबेला बर्खास्तीमा भने परेका थिएनन् । खेलाडीका रुपमा म्यानचेष्टरमा सन् १९९६ देखि २००७ सम्म बिताएका ओलेले क्लबका लागि १२६ गोल समेत गरेका थिए । साथै सन् १९९९ को च्याम्पियन्स लिग फाइनलमा उनले टोलीका लागि निर्णायक गोल समेत गरेका थिए ।

ओलेको बर्खास्तीसँगै म्यानचेष्टरलेयसै सिजन नयाँ म्यानेजर ल्याउने योजनामा छ । त्यसका लागि रियल मेड्रिड कै पूर्व चर्चित खेलाडी तथा म्यानेजर जिनेदिन जिदाने पहिलो रोजाईमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...