विश्वकपका लागि इङल्याण्ड छनौट (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । फराकिलो जित निकाल्दै इङल्याण्ड आगामी बर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनौट हुन सफल भएको छ । समूह चरणको अन्तिम खेलमा दश खेलाडीमा सिमित बनेको सान मेरिनोमाथि १०–० को फराकिलो जित निकाल्दै इङल्याण्ड कतार विश्वकपका लागि छनौट भएको हो ।

सान मेरिनो स्टेडियममा भएको समूह आई तर्फको आफ्नो अन्तिम खेलमा इङल्याण्डका लागि हेरि केनले ह्याट्रिक सहित चार गोल गरे । यद्यपि गोलको खाता भने छैठौं मिनटमा हेरी मेगीरले खोलेका थिए । घरेलु टोलीका लागि फेब्रीले १५औं मिनटमा आत्मघाती गोल गर्दा इङल्याण्डले त्यो अग्रता दोब्बर बनायो ।

त्यसपछि केनले २७, ३१, ३९ र ४२औं मिनटमा लगातार चार गोल गर्दै पाहुना टोलीको अग्रता ६–० मा पुर्याए । केनले पहिलो र तेस्रो गोल पेनाल्टीबाट गरेका थिए । त्यस्तै ५८औं मिनटमा इमिले स्मिथ रवीले सातौं गोल थपे । उता ६८औं मिनटमा सान मेरिनोका रोसीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा सान मेरिनो दश खेलाडीमा खुम्चिएको थियो ।

लगतै ६९औं मिनटमा टाइरन मिंग्सले इङल्याण्डका लागि आठौं गोल गरे । टेमी अब्राहमले ७८औं मिनटमा नवौं गोल थप्दा त्यसको एक मिनट लगतै बुकायो साकाले दशौं गोल गर्दै इङलिस टोलीको फराकिलो जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै दश खेलबाट २६ अंक जोडेको इङल्याण्ड समुह आईको शिर्ष स्थानमा छ र विश्वकपका लागि छनौट भएको छ । सोमबार नै हंगेरीसँग २–१ ले पराजित भएको पोल्याण्ड २० अंकका साथ दोस्रो स्थानमा छ र प्ले अफ खेल्नेछ । त्यस्तै अल्बानिया, हंगेरी, एन्डोरा र सान मेरिनो भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

किर्तिमानतर्फ अग्रसर केन

इङल्याण्डका स्टार स्ट्राइकर हेरी केनले सान मेरिनो विरुद्ध गरेको चार गोलसँगै उनको अन्तर्राष्ट्रि गोल संख्या ४८ पुगेको छ । र उनले इङलिस लिजेण्ड गेरी लिनेकरको बराबरी पनि गरेका छन् । साथै इङल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी अब वायन रुनी भन्दा मात्र पछि छन् ।

सर्वाधिक गोल गर्ने इङलिस खेलाडीको सूचीमा ५३ गोलका साथ शिर्ष स्थानमा रहेका रुनी भन्दा केन अब केवल ५ गोलले मात्र पछि परेका छन् । स्मरण रहोस, सान मेरिनो विरुद्धको ह्याट्रिक केनको चार दिनको अन्तरालमा दोस्रो ह्याट्रिक थियो । त्यसअघि उनले शुक्रबार मात्र अल्बानिया विरुद्ध पनि ह्याट्रिक गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...