सिटीको सहज जित, पिएसजी रोकियो

काठमाडौं (खेलदैनिक) । युइएफए च्याम्पियन्स लिगतर्फ समूह ए मा इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले शानदार जित निकाल्दा फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) भने रोकिएको छ ।

घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले क्लब ब्रुगी माथि ४–१ को सहज जित निकाल्यो र नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो । खेलको १५औं मिनटमा फिल फोडेनको गोलबाट अग्रता लिएको सिटीले त्यसको दुई मिनट लगतै आत्मघाती गोल खान पुगेको थियो ।

१७औं मिनटमा जोन स्टोन्सले आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा फर्किएको थियो । दोस्रो हाफमा भने सिटी पूर्ण हावी देखियो । ५४औं मिनटमा रियाद महरेजले सिटीका लागि दोस्रो गोल थपे । ७२औं मिनटमा रहिम स्टर्लिङले तेस्रो गोल थपे भने अन्तिमतिर इन्जुरी समयमा ग्याब्रिल जिसुसले चौथो गोल थप्दै घरेलु टोलीको पक्का गरे ।

समूह ए कै अर्को खेलमा पिएसजीले जर्मन क्लब आरबी लिपजिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । बुधबारको नतिजापछि समूह ए मा ४ खेलबाट ९ अंक जोडेको सिटी शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ८ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ भने ४ र १ अंक जोडेका क्लब ब्रुगी र आरबी लिपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...