युभेन्टस नकआउट चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इटालियन महारथी युभेन्टस उत्कृष्ट जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा मंगलबार राती युभेन्टसले समुह एचतर्फ जेनिट पिटसबर्गलाई ४–२ ले हरायो ।

घरेलु मैदान टुरिनमा सम्पन्न खेलमा युभेन्टसका लागि ११औं मिनटमा पाउलो डायबलाले पहिलो गोल गरे । तर २६औं मिनटमा युभेन्टसका डिफेन्डर लियोनार्डो बोनुचीले आत्मघाती गोल गर्दा जेनिट खेलमा फर्किन सफल भएको थियो ।

५८औं मिनटमा डायबलाले नै पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई फेरि खेलमा अग्रता दिलाए । ७३औं मिनटमा फेडरिको चिसाले युभेन्टसको त्यो अग्रता तेब्बर पारे भने ८२औं मिनटमा अल्वारो मोराटाले चौथो थपेका थिए ।

उता जेनिटका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा सरदार अजमुनले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

यो जितपछि ४ खेलबाट १२ अंक जोडेको युभेन्टस शिर्ष स्थानमा छ । पराजित जेनिट भने ३ अंकका साथ तेस्रो स्थानमा छ । उता मंगलबार राती समूह एच मै रहेको अर्को खेलमा माल्मोलाई १–० ले हराएको साविक विजेता चेल्सी ९ अंकका साथ समूह एचको दोस्रो स्थानमा छ । र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

माल्मो भने समूह एचमा अंकविहीन रुपमा समूहको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...