बार्सिलोनाको दोस्रो जित, बायर्न नकआउट चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । यस सिजन खराब लयमा देखिएको बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणतर्फ मंगलबार राती दोस्रो जित हात पारेको छ । समूह ई मा रहेको बार्साले युक्रेनी क्लब डाइनामो किभलाई उसकै घरमा १–० ले हरायो ।

बार्साको जितमा दोस्रो हाफको ७०औं मिनटमा अन्शु फाटीले एक मात्र निर्णायक गोल गरे । यो जितपछि ४ खेलबाट ६ अंक जोडेको बार्सा समूह ई को दोस्रो स्थानमा छ । पराजित किभ भने १ अंकका साथ पुछारमा छ ।

बायर्नको प्रभावशाली जित

समूह ई कै अर्को खेलमा बायर्नले बेनफिकालाई ५–२ ले हरायो र आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राख्यो । र नकआउट चरणमा प्रवेश गर्न पनि सफल भयो ।

घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । रोबर्टले खेलको २६,६१ र ८४औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै बायर्नका लागि थप दुई गोल सर्जे नेब्री (३२) र लेरोए साने (४९) ले गरेका थिए ।

उता पराजित बेनफिकाका लागि भने ३८औं मिनटमा फिलिपे मोराटो र ७४औं मिनटमा डार्विन नुनेजले गोल फर्काएका थिए । यो जितपछि ४ खेलबाट १२ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । उता पराजित बेनफिका भने ४ अंकका साथ तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने उसको सम्भावना पनि कायम छ ।

बार्सिलोना र किभको हाईलाईट भिडियोंः

बायर्न र बेनफिकाको भिडियोः


प्रतिक्रिया दिनुहोस

Loading...