सिटीको सहज जित (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ म्यानचेष्टर सिटीले पनि प्रिमियर लिगमा शनिबार सहज जित निकाल्दै लिगलिडर चेल्सीमाथि दबाब कायम राखेको छ ।

ब्राईटन एण्ड होव अल्बियनलाई उसकै घरमा ४–१ ले हराएको सिटीले चेल्सीसँगको दुरी दुई अंकमा छोट्याउन पनि सफल भयो । सिटीको जितमा युवा स्टार फिल फोडेनले दुई गोल गरे ।

यद्यपि सिटीका लागि गोलको खाता भने १३औं मिनटमा इल्काय गुन्डोगनले खोलेका थिए । फोडेनले २८ र ३१औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको अग्रता तेब्बर बनाएका थिए ।

उता दोस्रो हाफको ८१औं मिनटमा ब्राईटनका लागि म्याक एलिस्टरले पेनाल्टीबाट एक गोल फर्काए तापनि घरेलु टोलीले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । खेलको अन्तिमतिर रियाद महरेजले सिटीका लागि चौथो गोल थप्दै पाहुना टोलीको सहज जित पक्का गरेका थिए ।

यो जितसँगै ९ खेलबाट २० अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर चेल्सीभन्दा दुई अंकले मात्र पछाडी छ । उता सिटीसँग पराजित ब्राईटन भने १५ अंकका साथ चौथो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...