चार दिनको अन्तरालमा बायर्नले गर्यो नौ गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगामा आइतबार मात्र बायर लेभरकुसेनमाथि ५–१ को प्रभावशाली जित निकालेको बायर्न म्युनिखले च्याम्पियन्स लिगतर्फ बुधबार राती पनि गोलको बर्षा गरेको छ ।

समूह ई मा अपराजित बायर्नले शतप्रतिशत जित निकाल्ने क्रममा पोर्चुगिज क्लब बेनफिकालाई उसकै घरमा ४–० ले हरायो । लिस्वोनमा सम्पन्न खेलमा बायर्नले चारै गोल खेलको अन्तिमतिर गरेको थियो ।

खेलको ७०औं मिनटमा लेरोए सानेको गोलबाट बायर्नले अग्रता लिएको थियो । त्यसको दश मिनट लगतै इभर्टन सोरेसले आत्मघाती गोल गर्दा बायर्नले त्यो अग्रता दोब्बर बनायो ।

अन्तिम दश मिनटमा तीन गोल गरेकोे बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ८२औं मिनटमा तेस्रो गोल गर्दा त्यसको दुई मिनट लगतै सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नको जित पक्का गरेका थिए ।

यो जितपछि ३ खेलबाट ९ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ । त्यस्तै ४ अंकका साथ बेनफिका दोस्रो स्थानमा छ भने बुधबार नै डाइनामो किभलाई १–० ले हराएको बार्सिलोना ३ अंकका साथ तेस्रो स्थानमा छ । किभ भने १ अंकका साथ समूह ईको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...