चेल्सीको शानदार जितमा जर्जिन्होको दुई गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगमा गत महिना युभेन्टससँग निराश बनेको साविक विजेता चेल्सीले समूह एचतर्फ बुधबार राती शानदार जित निकालेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले स्वीडीस क्लब माल्मोमाथि ४–० को जित दर्ता गर्यो ।

चेल्सीको जितमा इटालियन स्टार जर्जिन्होको नाममा दुई गोल रह्यो । दुवै गोल उनले पेनाल्टीबाट गरे । यद्यपि चेल्सीलाई खेलमा अग्रता भने नवौं मिनटमा आन्द्रेस क्रिस्टेन्सनले दिलाएका थिए । २१औं मिनटमा पेनाल्टीबाट जर्जिन्होले दोस्रो गोल थपे । ४८औं मिनटमा काइ हेभर्जले त्यो अग्रता तेब्बर पारे ।

खेलमा एकपक्षीय जित निकालेको चेल्सीले दोस्रो हाफमा अर्को पेनाल्टीको अवसर पाएको थियो । जसलाई पनि ५७औं मिनटमा जर्जिन्होले नै पेनाल्टीबाट सहजै गोल गर्दै घरेलु टोलीको ४–० को शानदार जित सुनिश्चित गरेका थिए ।

यो जितपछि ३ खेलबाट ६ अंक जोडेको चेल्सी समूह एचको दोस्रो स्थानमा छ । पराजित माल्मो भने अंकविहीन रुपमा पुछारमा छ । त्यस्तै बुधबार राती नै समूह एचतर्फको अर्को खेलमा युभेन्टसले जेनिट सेन्ट पिटसबर्गमाथि १–० को साँघुरो जित निकाल्दै शतप्रतिशत जितका साथ ९ अंक जोड्ै शिर्ष स्थानमा यथावत छ । पराजित जेनिट भने ३ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...