एटलेटिको माथि लिभरपुलको रोमाञ्चक जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पार्ने क्रममा लिभरपुलले समूह बी तर्फ दश खेलाडीमा सिमित एटलेटिको मेड्रिडलाई उसकै घरमा ३–२ ले हराएको छ ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलको आठौं मिनटमै मोहमद सलाहको गोलबाट रेडसले खेलमा अग्रता लिएको थियो । १३औं मिनटमा नावी किटाले लिभरपुलको त्यो अग्रता दोब्बर बनाए ।

तर पहिलो हाफ कै २०औं र ३४औं मिनटमा एन्टोईन ग्रीजम्यानले लगातार दुई गोल गर्दै एटलेटिकोलाई खेलमा फर्काएका थिए । यद्यपि दोस्रो हाफको ५२औं मिनटमा ग्रीजम्यानले नै रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिएको थियो ।

तर त्यसको फाईदा लिभरपुलले उठाउन सफल भयो । ७८औं मिनटमा सलाहले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मेड्रिडमा लिभरपुलको रोमाञ्चक जित पक्का गरे ।

यो जितसँगै ३ खेलबाट अपराजित रहेर ९ अंक जोडेको लिभरपुल समूह बी को शिर्ष स्थानमा छ । ४ अंकका साथ एटलेटिको दोस्रो स्थानमा छ । मंगलबार राती नै भएको समूह बी तर्फको अर्को खेलमा एसी मिलानलाई १–० ले हराएको एफसी पोर्टो ४ अंकका साथ तेस्रो स्थानमा छ भने अंकविहीन मिलान पुछारमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...