पिएसजीको जितमा मेसीको दुई गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । युइएफए च्याम्पियन्स लिगतर्फ अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार राती जर्मन क्लब आरबी लिपजिगलाई ३–२ ले हराएको छ ।

पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न समूह ए तर्फको आफ्नो तेस्रो खेलमा अग्रता भने पिएसजीले लिएको थियो । खेलको नवौं मिनटमा काइलन एम्बाप्पेको गोलबाट घरेलु टोलीले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन ।

२८औं मिनटमा लिपजिगका लागि आन्द्रे सिल्वाले बराबरी गोल फर्काए भने ५७औं मिनटमा नोर्डी मुलेरले दोस्रो गोल थप्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । तर दोस्रो हाफमा भने पिएसजीका लागि मेसी नायक बने ।

मेसीले ६७औं मिनटमा पिएसजीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए भने ७४औं मिनटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको जित पक्का गरे । पिएसजीमा आवद्ध भए यता मेसीले तीन गोल गरेका छन् र तीनै गोल उ नले च्याम्पियन्स लिगमा गरेका छन् । यसअघि समूह चरणतर्फ कै खेलमा म्यानचेष्टर सिटी विरुद्ध जित निकाल्दै पनि मेसीले गोल गरेका थिए ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको पिएसजी समूह ए को शिर्ष स्थानमा छ । त्यस्तै मंगलबार राती नै क्लब ब्रुगीमाथि ५–१ को जित निकालेको म्यानचेष्टर सिटी ६ अंकका साथ दोस्रो स्थानमा छ । ४ अंक जोडेको ब्लब ब्रुगी तेस्रो स्थानमा रहँदा अंकविहीन लिपजिग पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...