एग्वेरोले डेब्यु गरेको खेलमा बार्साको सहज जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । गत समर ट्रान्सफरका बेला म्यानचेष्टर सिटीबाट बार्सिलोनामा आवद्ध भएका अर्जेन्टिनी स्टार सर्जियो एग्वेरोले अन्ततः आफ्नो नयाँ क्लबका लागि डेब्यु गर्न सफल भएका छन् ।

चोटका कारण क्याम्प नोउमा आए यता खेल्न नसकेका एग्वेरो आइतबार राती भ्यालेन्सिया विरुद्ध बार्सिलोनाले ३–१ को जित निकालेको खेलमा अन्तिमतिर मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।

खेलमा शुरुवाती अग्रता भ्यालेन्सियाले लिए पनि बार्साले उत्कृष्ट पूनःरामन गरेको थियो । पाँचौं मिनटमै जोसे गयाको गोलबाट भ्यालेन्सियाले अग्रता बनाएको थियो । तर लगतै १३औं मिनटमा अंशु फाटीले बार्साका लागि बराबरी गोल फर्काए । फाटीका लागि पनि यो समयपछिको गोल थियो ।

त्यस्तै ४१औं मिनटमा मेम्फिस डिपेले पेनाल्टीबाट बार्साका लागि दोस्रो गोल थपे भने खेलको अन्तिमतिर फाटीको स्थान मैदान प्रवेश गरेका फिलिपे काउटिन्होले ८५औं मिनटमा तेस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

यो जितसँगै ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना सातौं स्थानमा उक्लिएको छ । उता पराजित भ्यालेन्सिया भने ९ खेलबाट १२ अंकका साथ नवौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...