पाँच गोलको ‘थ्रीलर’ मा मिलानलाई आत्मघाती गोलको सहारा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । आत्मघाती गोल उपहार पाएपछि एसी मिलानले रोमाञ्चक जित निकाल्दै इटालियन सिरि ए तर्फ शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा मिलानले हेलास भेरानामाथि ३–२ को रोमाञ्चक जित निकाल्यो र शिर्ष स्थानमा कब्जा जमायो । मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा अग्रता भने भेरोनाले लिएको थियो ।

खेलको सातौं मिनटमै जियानलुका क्यापररीले भेरोनाका लागि पहिलो गोल गरेका थिए । २४औं मिनटमा एन्टोनियो बाराकले पेनाल्टीबाट दोस्रो गोल थपेपछि भेरोनाले घरेलु टोली विरुद्ध पहिलो हाफ मै दुई गोलको स्पष्ट अग्रता बनाएको थियो ।

तर मिलानले दोस्रो हाफमा पूनःरागमन गर्यो । ५९औं मिनटमा ओलिभर जिरुडले पहिलो गोल फर्काए । फ्रान्क केसीले ७६औं मिनटमा पेनाल्टीबाट गोल गरेपछि मिलानलले खेल २–२ को बराबरीमा ल्यायो ।

त्यसको दुई मिनट लगतै भेरोनाले आत्मघाती गोल खान पुग्यो । भेरोनाका कोरे गुन्टरले ७८औं मिनटमा आत्मघाती गोल गरेपछि मिलानले घरेलु मैदानमा रोमाञ्चक ३–२ को जित दर्ता गर्न सफल भयो ।

यो जितसँगै ८ खेलबाट २२ अंक जोडेको मिलान शिर्ष स्थानमा पुगेको छ । र दोस्रो स्थानको नापोली भन्दा १ अंकले अगाडी छ । यद्यपि नापोलीले एक खेल कम खेलेको छ । उता मिलानसँग पराजित भेरोना भने ८ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...