किंग पावरमा म्यानचेष्टर पराजित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको म्यानचेष्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा शनिबार राती लेस्टरसँग ४–२ ले पराजित हुन पुगेको छ । यो हारसँगै म्यानचेष्टरको २९ खेलको अवे जितको किर्तिमानी यात्रामा पनि पुर्णविराम लागेको छ ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलको १९औं मिनटमा मेसन ग्रीनवुडको गोलबाट म्यानचेष्टरले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफतर्फ नै ३१औं मिनटमा युरी तिलेमान्सले लेस्टरका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

७८औं मिनटमा कागलर सोयुन्कुले लेस्टरका लागि दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । तर त्यसको चार मिनट लगतै मार्कस रेशफोर्डले म्यानचेष्टरका लागि गोल फर्काउँदै खेललाई २–२ को स्थितिमा ल्याए । यद्यपि खेलको अन्तिम दश मिनट नाटकीय बन्यो ।

दोस्रो बराबरी गोल खाएको एक मिनट लगतै जेमी भार्डीले लेस्टरका लागि तेस्रो गोल फर्काए भने खेलको अन्तिमतिर पेटसन डाकाले चौथो गोल गर्दै घरेलु टोलीको रोमाञ्चक जित पक्का गरेका थिए ।

यो जितसँगै लेस्टर ८ खेलबाट ११ अंकका साथ लिगतालिकाको ११औं स्थानमा छ । त्यस्तै पराजित म्यानचेष्टर युनाइटेड भने १४ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...