विश्वकप छनौटमा ब्राजील र अर्जेन्टिना दुवै सफल

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनौटतर्फ दुई महारथी ब्राजील र अर्जेन्टिनाले आ–आफ्नो खेलमा जित हात पारेका छन् । छनौट प्रतियोगिताको १२औं राउण्डमा ब्राजीलले उरुग्वेमाथि ४–१ को सहज जित निकाल्यो भने अर्जेन्टिनाले पेरुलाई १–० ले निराश तुल्यायो ।

ब्राजीलको जितमा नेमारले खेलको १०औं मिनटमा पहिलो गोल गरेका थिए । त्यस्तै राफिन्हाले १८ र ५८औं मिनटमा घरेलु टोलीका लागि लगातार दुई गोल थप्दै ब्राजीलको अग्रता तेब्बर बनाए । उता ७७औं मिनटमा लुइस सुआरेजले उरुग्वेका लागि एक गोल फर्काए तापनि त्यो गोलको खुशी धेरैबेर मनाउन सकेनन् ।

पहिलो गोल खाएको धेरै समय बित्न नपाउँदै ब्राजीलले चौथो गोल फर्काउन सफल भएको थियो । ८३औं मिनटमा ग्याब्रियल बारबोसाले चौथो गोल थप्दै ब्राजीलको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको जितमा मार्टिनेज निर्णायक

त्यसैगरी ब्युनस आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि ४३औं मिनटमा लौतारो मार्टिनेजले गरेको एक मात्र गोल टोलीलाई महत्वपुर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

यो नतिजाहरुपछि ११ खेलबाट ३१ अंक जोडेको ब्राजील शिर्ष स्थान मै छ । २५ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको इक्वेडर १७ अंकका साथ तेस्रो स्थानमा छ । समान १६–१६ अंक जोडेका कोलोम्बिया र उरुग्वे क्रमश चौथो र पाँचौं स्थानमा छन् ।

त्यसैगरी १३ अंक जोडेको चिली छैठौं स्थानमा रहँदा समान १२–१२ अंक जोडेका बोलिभिया र पाराग्वे क्रमशः सातौं र आठौं स्थानमा छन् । ११ अंक जोडेको पेरु नवौं स्थानमा रहँदा सात अंकका साथ भेनेजुएला पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...