रोनाल्डोले ह्याट्रिक गर्दा विश्वकप छनौट नजिक पोर्चुगल (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकपको युरोपियन छनौटतर्फ शानदार जित निकाल्दै पोर्चुगलले आगामी बर्ष कतारमा हुने विश्व फुटबलको महाभिडन्तमा आफ्नो छनौटको सम्भावनालाई थप बलियो बनाएको छ ।

समूह ए मा रहेको पोर्चुगलले आफ्नो छैठौं खेलमा लक्जेम्बर्गमाथि ५–० को फराकिलो जित निकाल्यो । जसमा सुपरस्टार क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक पनि सामेल रह्यो ।

घरेलु मैदान स्टाडियो अल गार्भेमा सम्पन्न खेलको आठौं र १३औं मिनटमा लगातार दुई पेनाल्टी गोल गर्दै रोनाल्डोले घरेलु टोलीलाई खेलको शुरुवाततर्फ नै उत्कृष्ट अग्रता दिलाएका थिए ।

१८औं मिनटमा ब्रुनो फर्नान्डेसले त्यो अग्रता तेब्बर पारे भने ६९औं मिनटमा पालहिन्हाले चौथो गोल थपे । त्यस्तै खेलको अन्तिमतिर ८७औं मिनटमा रोनाल्डोले नै टोलीका लागि पाँचौं तथा व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । देश र क्लबका लागि रोनाल्डोको त्यो किर्तिमानी ५८औं ह्याट्रिक समेत थियो ।

मंगलबारको नतिजापछि ६ खेलबाट १६ अंक जोडेको पोर्चुगल समूह ए को दोस्रो स्थानमा छ । त्यस्तै मंगलबार नै अजरबैजानलाई ३–१ ले हराएको सर्बिया ७ खेलबाट १७ अंकका साथ शिर्ष स्थानमा छ ।

त्यस्तै ६ र ५ अंक जोडेका लक्जेम्बर्ग र आयरल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंक जोडेको अजरबैजान पुछारमा छ । पोर्चुगलले समूह चरणको अन्तिम दुई खेलमा आयरल्याण्ड र सर्बियासँग खेल्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...