हर्नान्डेजको निर्णायक गोलले फ्रान्स फाइनलमा (भिडियोसहित)

एजेन्सी । विश्व च्याम्पियन फ्रान्स जारी प्रतिष्ठित युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राती सम्पन्न दोस्रो सेमिफाइनलमा बलियो बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकालेपछि फ्रान्स उपाधि नजिक पुगेको हो ।

ट्ुरिन स्थित युभेन्टस स्टेडियममा भएको खेलमा बेल्जियमले दुई गोलको स्पष्ट अग्रता जोगाउन सकेन । ३७औं मिनटमा यानिक करास्कोले पहिलो गोल गरे भने त्यसको तीन मिनट लगतै रोमेलु लुकाकुले दोस्रो गोल गरेका थिए ।

यद्यपि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पूनःरागमन गर्यो । ६२औं मिनटमा करिम बेन्जेमाले फ्रान्सका लागि पहिलो गोल फर्काए । त्यसलगतै फ्रान्सले पेनाल्टीको अवसर पनि पायो । जसलाई ६९औं मिनटमा काइलन एम्बाप्पेले कुनै गल्ती नगरी गोलमा परिणत गर्दा फ्रान्स खेलमा २–२ को बराबरीमा पुगेको थियो ।

खेलमा निर्णायक गोल भने अन्तिमतिर भयो । ९०औं मिनटमा थियो हर्नान्डेजले निर्णायक गोल गर्दै फ्रान्सलाई ३–२ को रोमाञ्चक जित दिलाउन सफल भए ।

अब उपाधिका लागि फ्रान्सले अर्को दावेदार टोली स्पेनसँग १० अक्टुबरका दिन फाइनल खेल्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली आयोजक इटाली र बेल्जियमले पनि सोही दिन तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानका लागि हुने खेल टुरिन स्थित युभेन्टस स्टेडियममा हुनेछ भने फाइनल भिडन्त मिलान स्थित सान सिरो रंगशालामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...