इटालीको विश्व किर्तिमानी अपराजित यात्रामा पूर्णविराम

एजेन्सी । पूर्व विश्व विजेता इटालीको अन्तर्राष्ट्रिय फुटबलमा विश्वकिर्तिमानी ३७ खेलको अपराजित यात्रामा स्पेनले पूर्णविराम लगाइदिएको छ ।

बुधबार राती इटालीको घरेलु मैदान सान सिरोमा सम्पन्न युइएफए नेशन्स लिगको पहिलो सेमिफाइनलमा दश खेलाडीमा सिमित बनेको इटालीले स्पेनले २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

स्पेनको जितमा दुवै गोल म्यानचेष्टर सिटीका स्टार फेरान टोरेसले गरे । उनले १७औं मिनटमा पहिलो गोल गरे भने पहिलो हाफ कै इन्जुरी समयमा दोस्रो गोल थप्दै स्पेनको जितमा निर्णायक बनेका थिए ।

उता पहिलो हाफ कै ४२औं मिनटमा नियमित कप्तान लियोनार्डो बोनुचीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा इटाली पहिलो हाफबाटै दश खेलाडीमा सिमित भएको थियो । खेलको अन्तिमतिर ८३औं मिनटमा लोरेन्जो पेलेग्रिनीले एक गोल फर्काए तापनि इटालीको हार भने टार्न सकेनन् ।

स्पेनले अब उपाधिका लागि फाइनलमा अर्को इटालिन शहर टुरिनमा हुने दोस्रो सेमिफाइनलतर्फ बेल्जियम र फ्रान्स बीचको विजेतासँग भिड्नेछ । फाइनल खेल १० अक्टुबरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...