लिभरपुल र सिटीको हेभिवेट भिडन्त बराबरीमा सकियो

एजेन्सी । इङलिस प्रिमियर लिगमा आइतबार राती दुई दावेदार टोली लिभरपुल र साविक विजेता म्यानचेष्टर सिटीबीको खेल २–२ गोलको रोमाञ्चक बराबरीमा सकिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले दुईपटक लिएको अग्रतालाई जोगाउन नसक्दा सिटीसँग अंक बाँड्न बाध्य भयो । खेलमा सबै गोल दोस्रो हाफमा सम्पन्न भए ।

५९औं मिनटमा साडियो मानेको गोलबाट अग्रता बनाएको लिभरपुलले त्यसलाई दश मिनट मात्र जोगाई राख्न सक्यो । ६९औं मिनटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

त्यस्तै ७६औं मिनटमा मोहमद सलाहले लिभरपुललाई फेरि खेलमा अग्रता दिलाए । तर रेडसले त्यो अग्रता पनि जोगाउन सकेन । ८१औं मिनटमा केभिन डि ब्रुईनले गोल गर्दै सिटीको सम्भावित हार टारेका थिए भने लिभरपुलसँग महत्वपुर्ण अंक खोस्न पनि सफल भएका थिए ।

यो नतिजासँगै ७ खेलबाट १५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने १४ अंकका साथ सिटी तेस्रो स्थानमा छ । शिर्ष स्थानमा छ भने १६ अंकका साथ चेल्सी रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...