युरोपा लिगः लाजियोको पहिलो जित

एजेन्सी । आफ्नो पहिलो खेलमै पराजि भएको इटालियन क्लब लाजियोले युरोपा लिगमा बिहीबार राती पहिलो जितलाई आत्मसात गरेको छ । समूह ई मा रहेको लाजियोले आफ्नो दोस्रो खेलमा लोकोमोटिव मस्कोलाई २–० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्यो ।

रोम स्थित घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि १३औं मिनटमै टोमा बेसिकले पहिलो गोल गरेका थिए । त्यस्तै ३८औं मिनटमा प्याट्रिसियो प्याट्रिकले लाजियोका लागि दोस्रो गोल थप्दै घरेलु टोलीको महत्वपूर्ण जित पक्का गरेका थिए ।

त्यस्तै समूह ई तर्फकै अर्को खेलमा टर्किस क्लब गालातासारे र फ्रेन्च क्लब मार्सेलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे । स्मरण रहोस, लाजियोले आफ्नो पहिलो खेलमा गालातासारेसँग नै १–० को झिनो अन्तरको हार बेहोर्न पुगेको थियो ।

बिहीबारको नतिजापछि ४ अंक जोडेको गालातासारे शिर्ष स्थानमा छ । समूह ई को दोस्रो स्थानमा भने ३ अंकका साथ लाजियो छ । लगातार दोस्रो बराबरी खेल्दै दुई अंक जोडेको मार्सेली तेस्रो स्थानमा रहँदा १ अंकका साथ मस्को चौथो स्थानमा रहँदै पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...