च्याम्पियन्स लिगमा बार्साको खराब प्रदर्शन जारी (भिडियोसहित)

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा क्लब इतिहास कै खराब लयमा गुज्रिरहेको बार्सिलोनाले बुधबार राती अर्को लज्जाजनक हारको सामना गरेको छ ।

समूह ईमा रहेको बार्सिलोनाले बुधबार राती लिस्बोनमा सम्पन्न खेलमा घरेलु टोली बेनफिकासँग ३–० ले पराजित हुन पुग्यो । बार्साले समूह चरणको आफ्नो पहिलो खेलमा पनि बायर्न म्युनिखसँग समान ३–० को हार बेहोरेको थियो ।

बुधबार बेनफिकाको जितमा डार्विन नुनेजले खेलको तेस्रो र ७९औं मिनटमा गरी दुई गोल गरेका थिए । त्यस्तै थप एक गोल भने ६९औं मिनटमा राफेल फर्नान्डेसले गरेका थिए ।

खेलको अन्तिमतिर बार्सा दश खेलाडीमा समेत खुम्चिन पुगेको थियो । इरिक गार्सियाले ८७औं मिनटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा बार्साले अन्तिम केही मिनट दश खेलाडीमा रहेर खेल्नु परेको थियो ।

लगातार दुई हार बेहोरेको बार्सा समूह ई मा अंकविहीन रुपमा पुछारमा छ । १ अंक जोडेको डाइनामो किव तेस्रो स्थानमा छ भने ४ अंकका साथ बेनफिका दोस्रो स्थानमा छ । त्यस्तै बुधबार नै समूह ई तर्फको अर्को खेलमा डाइनामोलाई ५–० ले हराएको बायर्न म्युनिख ६ अंकका साथ शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...