ओल्ड ट्राफोर्डमा रोनाल्डो निर्णायक (भिडियोसहित)

एजेन्सी । म्यानचेष्टर आए यता उत्कृष्ट गोलस्कोरिङ लयमा देखिएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगमा बुधबार राती फेरि आफूलाई गेम चेन्जरका रुपमा प्रमाणित गरेका छन् ।

च्याम्पियन्स लिगतर्फ समूह एफमा रहेको म्यानचेष्टरले आफ्नो पहिलो खेलमा स्वीस क्लब योङ ब्वाईजसँग २–१ को स्तब्धपुर्ण हार बेहोरे तापनि दोस्रो खेलमा स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियल माथि समान २–१ कै रोमाञ्चक जित निकाल्यो ।

उत्कृष्ट पूनःरागमन गरेको खेलमा म्यानचेष्टरको जित्का लागि रोनाल्डोले नै निर्णायक बने । ओल्ड ट्राफोर्डमा भएको खेलको ५३औं मिनटमा फ्रान्चिस्को एल्कासेरले भिल्लारियललाई खेलमा अग्रता दिलाएका थिए ।

तर ६०औं मिनटमा एलेक्स टेलेसले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ नै लम्किरहेका बेला अन्तिमतिर इन्जुरी समयको ९०+५औं रोनाल्डोले निर्णायक गोल गर्दै घरेलु टोलीलाई अहम जित दिलाए ।

यो जितसँगै २ खेलबाट ३ अंक जोडेको म्यानचेष्टर समूह एफको तेस्रो स्थानमा छ । पराजित भिल्लारियल १ अंकका साथ पुछारमा छ । त्यस्तै बुधबार नै योङ ब्वाईजलाई १–० ले हराएको एटलान्टा ४ अंकका साथ शिर्ष स्थानमा रहँदा ३ अंकका साथ राम्रो गोलभिन्नताका आधारमा योङ ब्वाईज दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...