लिभरपुलको सहज जित (भिडियोसहित)

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इङलिस क्लब लिभरपुलले मंगलबार राती सहज जित दर्ता गरेको छ । समूह बी मा रहेको रेडसले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगिज क्लब एफसी पोर्टोमाथि ५–१ को सहज जित निकाल्यो ।

लिभरपुलको जितमा यस सिजन पनि उत्कृष्ट लयमा देखिएको मोहमद सलाह र रोबर्टो फर्मिनोले २–२ गोल गरे । पोर्टो घरेलु मैदानमा सम्पन्न खेलको १८औं मिनटमा सलाहले लिभरपुलका लागि गोलको खाता खोलेका थिए ।

४५औं मिनटमा साडियो मानेले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ मै दुई गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो भने एक गोल खान पनि पुगेको थियो ।

६०औं मिनटमा सलाहले नै लिभरपुलको अग्रता तेब्बर बनाए । सलाहको त्यो व्यक्तिगत दोस्रो गोल समेत थियो । तर ७४औं मिनटमा मेहदी तारेमीले पोर्टोका लागि पहिलो गोल फर्काए । यद्यपि घरेलु टोलीलाई हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।

फर्मिनोले ७७ र ८१औं मिनटमा लगातार दुई गोल थप्दै लिभरपुलको सहज जित सुनिश्चित गरे । यो जितसँगै २ खेलबाट ६ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । मंगलबार नै एसी मिलानलाई २–१ ले हराएको एटलेटिको मेड्रिड ४ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै एक अंक जोडेको पोर्टो तेस्रो स्थानमा रहँदा अंकविहीन मिलान भने पुछारमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...