फाटी फर्किदा बार्साको सहज जित (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले क्लब छाडेपछि १० नम्बर जर्सी पाएर चर्चा कमाएका अन्शु फाटी चोटपछि लामो समय पश्चात मैदान फर्किएर गोल गर्दा बार्सिलोनाले सहज जित हात पारेको छ । साथै यो जितले म्यानेजर रोनाल्ड कोम्यानमाथिको दबाब पनि केही कम गरेको छ ।

आइतबार घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले लेवान्टेमाथि ३–० को सहज जित निकाल्यो । पहिलो गोल खेल शुरु भएको सातौं मिनटमै मेम्फिस डिपेले पेनाल्टीबाट गरे । विपक्षी खेलाडीले डिपेलाई बक्स भित्र फल गरेपछि बार्साले पेनाल्टीको अवसर पाएको थियो । जसलाई डिपेले सहज गोलमा परिणत गरेका थिए ।

त्यस्तै सेभियाबाट लोनमा खेलिरहेका लुक डि जोंगले बार्सिलोनाका लागि १४औं मिनटमा दोस्रो तथा आफ्नो डेब्यु गोल समेत गरे । खेलको अन्तिमतिर इन्जुरी समयमा फाटीले बार्साका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको सहज जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै ६ खेलबाट १२ अंक जोडेको बार्सिलोना लिगतालिकाको छैठौं स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लेवान्टे भने ४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...