युभेन्टसको उत्कृष्ट पूनःरागमन (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए को नयाँ सिजन शुरु भईसक्दा पनि लय समाउन नसकेको इटालियन महारथी युभेन्टसले बुधबार राती उत्कृष्ट पूनःरागमन गर्दै सिरि ए मा सिजनको पहिलो जित हात पारेको छ ।

खेलमा शुरुवाती अग्रता लिएर पनि पछि परेको स्थिति उल्टाउँदै युभेन्टसले स्पेजियालाई उसकै घरमा ३–२ ले हरायो । २८औं मिनटमा मोइसे किनको गोलबाट अग्रता बनाएको युभेन्टसले त्यसलाई जोगाउन सकेन ।

३३औं मिनटमा इमानुएल ग्यासीले स्पेजियाका लागि बराबरी गोल फर्काए भने ४९औं मिनटमा जेनिस एन्टिस्टेले दोस्रो गोल गर्दा घरेलु टोलीले युभेन्टस विरुद्ध २–१ को अग्रता बनाउन पुगेको थियो ।

तर युभेन्टसले रोमाञ्चक जित निकाल्ने क्रममा ६६औं मिनटमा फेडरिको चिसाले गोल गर्दै युभेन्टसलाई खेलमा २–२ को स्थितिमा ल्याएका थिए । ७२औं मिनटमा स्टार डिफेन्डर मेथिस डि लिटले तेस्रो तथा निर्णायक गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए ।

यस सिजन सिरि ए मा बुधबार पहिलो जितको स्वाद चाखेको युभेन्टस ५ खेलबाट ५ अंकका साथ १३औं स्थानमा उक्लिएको छ । र शिर्ष स्थानको टोली इन्टर मिलान भन्दा अझै पनि ८ अंकले पछाडी छ । पराजित स्पेजिया भने ४ अंका साथ १७औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...