लेवान्डोस्कीलाई पहिलोपटक गोल्डेन बुट

एजेन्सी । बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले सन् २०२०–२१ सिजनको युरोपियन गोल्डेन बुट अवार्ड हात पारेका छन् । युरोपको शिर्ष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने यो अवार्ड लेवान्डोस्कीले पहिलोपटक जित्न सफल भएका हुन् ।

जर्मनमा खेल्दै यो अवार्ड हात पार्ने लेवान्डोस्की दोस्रो खेलाडी समेत हुन् । यसअघि फुटबल लिजेण्ड गर्ड मुलरले सन् १९७१–७२ को सिजनमा हात पारेका थिए । स्मरण रहोस, ३३ बर्षिय लेवान्डोस्कीले गत सिजन बायर्नका लागि बुण्डेसलिगामा ४१ गोल गरेका थिए ।

यो अवार्डको दौडमा लेवान्डोस्कीले दुई सुपरस्टार लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई सजिलै पछि पारेका थिए । गत सिजन मेसीले कुल ३० गोल गरेका थिए भने रोनाल्डोले २९ गोल गरेका थिए ।

यद्यपि यो अवार्ड सर्वाधिक धेरैपटक जित्ने सूचीमा मेसी र रोनाल्डो नै अगाडी छन् । मेसीले यो अवार्ड किर्तिमानी ६ पटक जितेका छन् भने रोनाल्डोले चारपटक जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...