एटलेटिकोका लागि हिरो बने सुआरेज (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ मंगलबार राती रोमाञ्चक पूनःरागमन गर्दै जित हात पार्ने क्रममा एटलेटिको मेड्रिडका लागि स्टार फरवार्ड लुइस सुआरेज नायक बने । गेटाफेमाथि २–१ को जित निकालेको खेलमा एटलेटिकोका लागि सुआरेजले खेलको अन्तिमतिर दुवै गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले आत्मघाती गोलका रुपमा शुरुवाती अग्रता बनाएको थियो । एटलेटिको विरुद्ध सन् २०११ पछि गेटाफेले गरेको त्यो पहिलो गोल समेत थियो । ४५औं मिनटमा स्टेफन मित्रोविकको हेड गोल प्रयास एटलेटिकोका गोलरक्षक जान ओब्लाकलाई लाग्दै गोलमा परिणत भएपछि गेटाफेले शुरुवाती अग्रता बनाएको थियो ।

तर खेलको ७४औं मिनटमा कार्लेस एलेनाले रातो कार्ड खाँदै मैदान छाडेपछि गेटाफे दश खेलाडीमा खुम्चिन पुग्यो । जसको फाईदा एटलेटिकोले उठायो । सुआरेजले ७८ र ९०औं मिनटमा दुई गोल गर्दै एटलेटिकोलाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै ६ खेलबाट १४ अंक जोडेको एटलेटिको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । यद्यपि रियलले एक खेल कम खेल्दै १३ अंकका साथ दोस्रो स्थानमा छ । रियलले आफ्नो आगामी खेल जिते फेरि शिर्ष स्थानमा उक्लिने छ ।

उता एटलेटिकोसँग पराजित हुन पुगेको गेटाफे भने अंकविहीन रुपमा रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...