डर्टमुण्डका लागि हालण्डको डबल स्ट्राईक (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगामा उत्कृष्ट गोलस्कोरिङ लयमा रहेका नर्वेजियन स्टार इर्लिङ हालण्डले दुई गोल गरेको खेलमा आइतबार बोरुसिया डर्टमुण्डले युनियन बर्लिनमाथि ४–२ को जित निकाल्यो ।

घरेलु मैदानमा सम्पन्न खेलमा डर्टमुण्डका लागि दशौं मिनटमै राफेल गुरेरोले पहिलो गोल गरेका थिए । २४औं मिनटमा हालण्डले त्यो अग्रता दोब्बर बनाए । पहिलो हाफसम्म डर्टभुण्डले २–० कै अग्रता कायम राख्यो ।

दोस्रो हाफतर्फ ५२औं मिनटमा मार्विन फ्रिडरिचले आत्मघाती गोल गर्दा डर्टमुण्डले आफ्नो अग्रता तेब्बर बनायो । यद्यपि त्यसको पाँच मिनट लगतै म्याक्स क्रुसले युनियन बर्लिनका लागि पेनाल्टीबाट पहिलो गोल फर्काए । ८१औं मिनटमा आन्द्रेस भोगसेमरले दोस्रो गोल थप्दा बलिर्नले खेलमा फर्कने झिनो संकेत देखाए पनि सफल भएन ।

दोस्रो गोल खाएको दुई मिनट बित्न नपाउँदै ८३औं मिनटमा हालण्डले नै व्यक्तिगत दोस्रो तथा डर्टमुण्डका लागि चौथो गोल गर्दै घरेलु टोलीको प्रभावशाली जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै ५ खेलबाट १२ अंक जोडेको डर्टमुण्ड तेस्रो स्थानमा छ र लिगलिडर बायर्न म्युनिख भन्दा १ अंकले मात्र पछाडी छ । उता डर्टमुण्डसँग पराजित बर्लिन भने ६ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...