घरेलु मैदानमा मेसीको डेब्यु र पिएसजीको जित (भिडियोसहित)

एजेन्सी । बार्सिलोनाबाट यसै समर पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पिएसजीका लागि आइतबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा डेब्यु गरेका छन् ।

खेलमा पिएसजीले लियोनमाथि २–१ को जित निकाल्यो । तर मेसीले भने गोलको खाता खोल्न सकेनन् । बरु उनलाई दोस्रो हाफमै प्रशिक्षक मौरिसियो पोचेटिनोले मैदान बाहिर निकाले । मैदान बाहिर निस्किदा उनले प्रशिक्षक पोचेटिनोसँग हात समेत मिलाएनन् । क्यामरामा कैद भएको त्यो क्षणले अहिले सामाजिक सञ्जालमा चर्चा पनि पाइरहेको छ ।

मेसीले पिएसजीका लागि आधिकारिक डेब्यु भने गत महिना रिम्स विरुद्ध गरेका थिए । सो खेलमा पिएसजीले रिम्सलाई २–० ले हराउँदा मेसी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै आफ्नो नयाँ क्लबका लागि डेब्यु गरेका थिए ।

आइतबार खेलमा शुरुवाती अग्रता भने लियोनले बनाएको थियो । ५४औं मिनटमा टोलेन्टिनो लिमाले पाहुना टोलीलाई सनसनीपुर्ण रुपमा खेलमा अगाडी बढाएका थिए । तर लियोनले त्यो अग्रतालाई धेरैबेर कायम राख्न सकेन ।

गोल खाए लगतै पिएसजीले पेनाल्टीको अवसर पायो । जसलाई ६६औं मिनटमा नेमारले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यस्तै निर्णायक गोल भने खेलको अन्तिमतिर इन्जुरी समयमा माउरो इकार्डीले गर्दै पिएसजीको संघर्षपुर्ण जित सुनिश्चित गरे ।

यो जितसँगै शतप्रतिशत नतिजा हात पारेको पिएसजी ६ खेलबाट १८ अं्रक जोड्दै लिगतालिकाको शिर्ष स्थानमा छ । र एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको मार्सेली भन्दा ५ अंकले अगाडी छ । उता पिएसजीसँग पराजित लियोन भने ८ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...