बुण्डेसलिगामा बायर्नको गोल बर्षा

एजेन्सी । जर्मन बुण्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले गोलको बर्षा गर्दै लिगतालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाएको छ । बायर्नले एकतर्फी जित निकाल्ने क्रममा यसै सिजन शिर्ष लिगमा बढुवा भएको नव आगन्तुक टोली भिएफएल बोचुममाथि ७–० को जित दर्ता गर्यो ।

खेलको १७औं मिनटमा लेरोए सानेले बायर्नका लागि गोलको खाता खोले । २७औं मिनटमा जोशुआ किमिचले त्यो अग्रता दोब्बर पारे भने ३२औं मिनटमा सर्जे नेब्रीले तेस्रो गोल थपे । त्यस्तै पहिलो हाफ सकिन दूई मिनट बाँकी रहँदा भेसिलिस लेम्प्रोपुलुसले आत्मघाती गोल गर्न पुग्दा बायर्नले पहिलो हाफ मै ४–० को अग्रता बनाउन सफल भएको थियो ।

दोस्रो हाफको ६१औं मिनटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि पाँचौं गोल थप्दा त्यसको चार मिनट लगतै जोशुआ किमिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं गोल गर्न सफल भए । एकतर्फी जित निकालेको बायर्नका लागि ७९औं मिनटमा म्याक्सिम चुपो मोटिङले सातौं गोल थप्दै डिफेन्डिङ च्याम्पियनको शानदार जित पक्का गरे ।

यो जितसँगै बायर्न ५ खेलबाट १३ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा छ । पराजित बोचुम भने ३ अंकका साथ रेलिगेशन क्षेत्रको १७औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...