लिभरपुलको सहज जित, सिटी बराबरीमा रोकियो

एजेन्सी । इङलिस प्रिमियर लिगमा दुई ठूला क्लबहरुले खेलेका आ–आफ्ना खेलमा मिश्रित नतिजा हात पारेका छन् । जसअन्तरगत लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी भने साउथाम्पटनसँग गोलरहित बराबरीमा रोकियो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको ४३औं मिनटमा साडियो मानेले रेडसका लागि गोलको खाता खोलेका थिए । क्लबका लागि त्यो उनको १००औं गोल समेत थियो । दोस्रो हाफको ७८औं मिनटमा मोहमद सलाहले त्यो अग्रता दोब्बर पारे भने ८९औं मिनटमा नावी किटाले तेस्रो गोल गर्दै लिभरपुलको सहज जित सुनिश्चित गरे ।

यो जितसँगै ५ खेलबाट १३ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा पुगेको छ । पराजित क्रिस्टल प्यालेस भने ५ अंकका साथ १४औं स्थानमा छ । त्यस्तै बराबरीमा रोकिएको म्यानचेष्टर सिटी १० अंकका साथ तेस्रो स्थानमा झरेको छ भने साउथाम्पटन ४ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...