च्याम्पियन्स लिगमा हालण्डको गोल जारी (भिडियोसहित)

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा पनि आफ्नो गोलस्कोरिङ लयलाई जारी राखेका नर्वेजियन स्टार इर्लिङ हालण्डले बुधबार टर्किस क्लब बेसिकटास विरुद्ध उसकै घरमा पनि गोल गरेका छन् ।

इस्तानबुलमा समूह सीतर्फको आफ्नो पहिलो खेलमा बोरुसिया डर्टमुण्डले बेसिकटासलाई २–१ ले हराउँदा २१ बर्षिय हालण्डको नाममा दोस्रो गोल रह्यो । यो गोलसँगै च्याम्पियन्स लिगमा हालण्डको गोलसंख्या १७ खेलमा २१ पुगेको छ ।

यद्यपि खेलमा डर्टमुण्डको जितमा पहिलो गोल २०औं मिनटमा १८ बर्षिय इङलिस युवा स्टार जुडी बेलिंघमले गरेका थिए । हालण्डले पहिलो हाफ कै इन्जुरी समयमा दोस्रो गोल थपेका थिए । उता बेसिकटासका लागि खेलको अन्तिमतिर जाभी मोन्टेरोले एक मात्र सान्त्वना गोल फर्काए तापनि टोलीको पराजय टार्न सकेनन् ।

समूह सी मै रहेको अर्को टोली एएफसी एजाक्सले स्र्पोटिङ सिपीलाई ५–१ को फराकिलो अन्तरले हरायो । समूह चरणको दोस्रो खेलतर्फ २८ सेप्टेम्बरका दिन एजाक्सले बेसिकटाससँग खेल्नेछ भने सोही दिन डर्टमुण्डले स्र्पोटिङ सिपीको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...